FAQs Complain Problems

प्युठान नगरपालिका-४ मा बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण सुरु

प्यूठान नगरपालिका–४ मा रहेका बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्ता बैंकबाट प्रदान गरिने भएको छ। सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट भाषणमा सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने निर्णय गरेको थियो। सरकारले गरेको निर्णय अनुसार जिल्लामा पहिलोपटक कार्यन्वयन भएको छ।

शाइन रेसुंगा डेभलप्मेन्ट बैंक लिमिटेड विजुवार शाखामार्फत बृद्धबृद्धाहरुले सामाजिक सुरक्षा भत्ता बुझनेछन्। मृतकको नामबाट समेत भत्ता बुझ्ने परिपाटीलाई यसले रोक्ने विश्वास लिइएको छ। वडामा रहेका ६ सय १० जना व्यक्तिहरुले बैंकबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष लक्ष्मीप्रकाशराज भण्डारीले जानकारी दिए।

‘जिल्लामै पहिलोपटक सेवा सुरु गरेका छौँ’,उनले भने,‘मंगलवारदेखि सेवा सूचारु भएको छ। भत्ता बुझ्न वडा कार्यालय नै आउनुपर्ने झन्झट हटेको छ।’ बैंकसँग सहकार्य गरी अति अशक्त र अपांग व्यक्तिहरुलाई घरमै पुगेर बृद्धभत्ता बुझाउने व्यवस्था मिलाउने समेत उनले जानकारी गराए। 
माझकोट भित्रकोटका एकसय ७ वर्षीय ढाल बहादुर थापामगर र विजुवार गाँजुरी निवासी ८९ वर्षीय केरमादेवी घर्तीमगरलाई बैंकको चेक हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको छ।

हालसम्म चारसय ३५ जनाको खता संचालन भइसकेको बैंकका प्यूठान शाखा प्रवन्धक मेघराज पोखरेले जानकारी दिए। ‘सामाजिक उत्तरदायित्व वहन गर्दै पहिलोपटक सेवा दिएका छौँ’,उनले भने,‘भत्ता बुझ्ने सबै वडावासी बैंकसँग जोडिनुहुनेछ।’

वडाभरी दलित बालवालिका एक सय १७ जना, जेष्ठ नागरिक ७१, जेष्ठ नागरिक(दलित) ९०, एकल महिला एक सय ४५, पूर्ण अपांग एक र आंशिक अपांग ११ जना रहेको वडा सचिव सुजना चौधरीले जानकारी दिइन्। उनका अनुसार जेष्ठ नागरिकले मासिक दुई हजार, ७० वर्षमुनीका दलित, जेष्ठ नागरिक र एक महिलाले एक हजार, पूर्ण अपांगले दुई हजार र आंशिक अपांग, दलित बालवालिकाले ६ सय रुपैयाँ चौमासिक रुपमा बुझ्दै आएका छन्।

स्रोत: अन्नपूर्णपोस्ट दैनिक