प्यूठान नगरपालिकाको संक्षिप्त परिचय
प्यूठान नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत प्यूठान जिल्लामा र हाल ५ नं प्रदेश मा पर्दछ । भौगोलिक हिसाबले यस नगरपालिका राप्ती अञ्चल, प्यूठान जिल्लाको मध्य भागमा ८२ डिग्री ४६’ ३०” देखि ८२ डिग्री ५७’ ३०” पूर्वी देशान्तर र २८ डिग्री ३’ ३०” देखि २८ डिग्री ११’ उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ।
१२८.९६ वर्ग कि.मि. क्षेत्रफल रहेको यस प्यूठान नगरपालिका उत्तरमा नौबहिनी गाउँपालिका र रोल्पा जिल्ला, पश्चिमतिर स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिका, दक्षिणमा मल्लरानी गाउँपालिका र माण्डवी गाउँपालिका र पूर्वमा झिमरुक गाउँपालिका रही संरचित छ।नेपाल सरकारको निर्णयअनुसार २०७३/११/२० साविकका गाविसहरू प्यूठान न.पा.(४,६—१७,१९), माझकोट जुम्रीकाँडा गा.वि.स. हरू समेटी प्यूठान नगरपालिका घोषणा गरिएको थियो । प्यूठान नगरपालिकाको अधिकतम औषत तापक्रम ३२.० डिग्री सेल्सियस र न्यूनतम औषत तापक्रम ८.० डिग्री सेल्सियस रहेको पाईन्छ । शैक्षिक तर्फ प्रा.वि सङ्ख्या ४५, नि.मा.वि. ८, मावि १२ गरी जम्मा ६५ वटा शिक्षण संस्थाहरू संचालित छन् यस मध्ये १२ निजी र १ शैक्षिक गुठी संस्था रहेका छन् । प्राकृतिक श्रोतको दृष्टिकोणले संभावनायुक्त, मानवीय श्रोतको दृष्टिकोणबाट नेतृत्व क्षमतायुक्त, राजनैतिक दल र सचेत एवं उत्प्रेरित नगरपालिकाबासी यस नगरपालिकाको दिगो विकासका आधार स्तम्भका रूपमा रहेका छन् । यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार सबैभन्दा बढी क्षेत्री जाति १३५२९ जना (३२.१%), दोस्रोमा मगर ८,९७७ जना (२१.३० %) र तेस्रोमा पहाडी ब्राम्ह्मण ४८७८ (११.६ % ) हरूको बसोबास रहेको छ । केही भाग ऐतिहासिक तथा शहरी क्षेत्रको रूपमा रहेको नगरपालिकामा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ । स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रूपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत अपनाएका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । यस नगरपालिकामा आधारभूतदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्था उल्लेख्य मात्रामा रहेका छन् । अध्ययनका लागि यस नगरपालिकाको शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका÷ नगरपालिकाबाट आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, तीज, होली, महाशिवरात्री, चैते दशै, रामनवमी, कृष्ण जन्माष्टमी, बकरइद, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।
प्रमुख धार्मिक तिर्थस्थल एवम् धार्मिक मन्दिरहरुः- कालिका मन्दिर-विजुवार,भिमसेन मन्दिर-विजुवार,शिवालय मन्दिर-विजयनगर,खैराकोट-खैरा,राजुराथान मन्दिर-वडा नं. ४,क्षेत्रपाल मन्दिर-वडा नं ७,शिवगोपाल मन्दिर-वडा नं २,जाल्पास्थान-वडा नं. ४, सिद्धमेहेलथान-वडा नं. ६,भूमिस्थाना मन्दिर-वडा नं १,भूमेथान मन्दिर-वडा नं ९, वृत्तीका थान मन्दिर – वडा नं. ६, भित्रिकोट मन्दिर, गोरखनाथ मन्दिर – वडा नं. १ र २, शिवालय मन्दिर – वडा नं. १, खड्ग मन्दिर –वडा नं.४, ठाकुर बराह मन्दिर –वडा नं. ५, सिद्ध फलारी – वडा नं. २